Tuesday, September 3, 2013


येशूनीति पूवीय दर्शन, क्रिश्चियानिटी पश्चिमको उपज

4
 
0
 
0
 

1
भजुराम तखाछेँ श्रेष्ठ
आज नेपालको जनजीवनमा क्रिश्‍चियन भन्ने शव्द कुनै नौलो छैन । झन डिसेम्बर २५ तारिखको दिन सार्वजनिक विदा दिँदा गैरक्रिश्चियनले पनि मजाले घाम तापेर बस्न र क्रिश्चियानिटी सम्झन पाएकै छन् । क्रिस्चियनहरूलाई पनि सम्मान भाव जागृत भएकै छ । जनआन्दोलनपछि कानूनी अधिकारै नपाएतापनि क्रिश्‍चियनहरू वढेका छन् भन्ने समाचारले कतिपयको जिज्ञासा बढाएकै थियो । 
मल्लकालिन युगमा प्रवेश पाएको क्रिश्‍चियन धर्मलाई राजा पृथ्वीनारायण शाहले नेपालबाट लखेटेका थिए। क्रिश्‍चियानिटी भन्ने वित्तक्कै ती आदरणीय राजाको कन्चट तातिहाल्थ्यो, त्यसैले उनले क्रिश्‍चियनहरूलाई नेपालमा जग बसाल्न दिएनन्। क्रिश्‍चियानिटीको आध्यात्मिक कारणले भन्दा राजनीतिक कारणले क्रिश्‍चियनहरूप्रति दोषी चस्माले उनले हेरेको नेपालको इतिहास साक्षी छ।
क्रिश्चियनहरूलाई बेलायतीहरू वा उनलाई मन पर्ने शव्द फिरङ्गीहरूसँग जोड्ने भएकोले नै तिनीहरू उनको आँखामा छारो हुन पुगेका थिए। नेपाललाई एकिकरण गर्ने उनको उद्देष्य थियो र त्यस उद्देष्यमा कसैले हस्तक्षेप नगरोस् भन्ने उनको चाहना थियो। क्रिश्चियनहरूले फिरङ्गीहरूसँग मिलेर उनको लक्ष्यलाई बिथोल्लान् भन्ने उनको डर थियो।
हुन त शासकवर्गहरूले क्रिश्चियनहरूलाई दोषी चस्माले हेर्ने कुनै नौलो कुरो होइन। आफूले नै जलाएको रोमलाई आफ्नो छवि सपार्न सम्राट निरोले क्रिश्चियनहरूलाई दोष दिन लगाएर तिनीहरूलाई जिउँदै छाला काढेर रोमको शहरको सडकमा बत्तीको निम्ति जलाएको विश्व इतिहासले बताउँछ।
क्रिश्‍चियानिटी विदेशी धर्म वा पाश्चात्य धर्म हो भनेर मल्लकालिन युगपछि फैलाएको धारणा हाम्रो देशमा अझै पनि आलै छ। यस आलेखको रचयिता आध्यात्मिक चिन्तनको छात्र भएको हुनाले क्रिश्‍चियानिटी र येशूनितिको बीचमा के फरक होला भन्ने सोचबाट प्वाक्क निस्केको केही विचारहरू यस इनेपाली खबरका प्रधान सम्पादकको अनुरोधमा पाठकहरूको बीचमा पोखाउने श्रृखला सुरू गर्न चाहन्छु। कुनै चर्चलाई प्रतिविम्ब नगरिएको, बाइबलका कुनै विज्ञहरूभन्दा टाडा रही रचिएको यस व्यक्तिगत जिज्ञासालाई व्यक्तिगतै रूपमा ढाली राख्‍न पाठक वर्गमा अनुरोध छ।
यस लेखकको चिन्तनमा क्रिश्‍चियानिटी यथार्थमा पश्‍चिमी सभ्यताको उपज हो भने येशूनीति दुई हजार वर्ष पहिले उदाएको पूर्विय देशको तारा हो। क्रिश्‍चियानिटीलाई अनुवाद गरिन्दा इसाई भनिन्छ भने अङ्ग्रेजीमाChristianity भनेर लेखिन्छ। क्राइष्ट र ianity दुई शव्द जोडेर क्रिश्‍चियानिटी हुन्छ भने यानिटीको अर्थ छैन । त्यसैले आगामी वाक्यहरुमा लेखक क्रिश्चियानीति लेख्ने अनुमति चाहन्छ । किनभने नीतिको अर्थ सर्वविदितै छ।
अङ्ग्रेजीमा इथिक भनेको नीतिशास्त्रू हो । क्रिश्‍चियानीति भन्ने वित्तिक्कै नेपाल लगायत सारा संसारका मानिसहरूको मनमा पाश्‍चात्य धर्म भन्ने मनमा बुनेको हुन्छ। पाश्चात्य इतिहासमा हेरियो भने त्यसलाई सतप्रतिसत होइन भन्न मिल्दैन। किनभने पूर्वी देश इस्रायलबाट फैलिएको यस धर्म प्रथम् पश्‍चिम देश रोममा हजारौँ इसाईहरूलाई शहिद बनाएपछि तिनीहरूलाई नाश गर्न नसकेको कारण तेस्रो शताव्दीमा त्यस देशले यस धर्मलाई राष्ट्रिय धर्म भनेर अँगाल्यो। तत्कालन अवस्थामा त्यस देशमा रोमी देवता देवीहरूको बाहुल्यता थियो, तर त्यस नौलो धर्मले तिनीहरूलाई ओझेलमा पार्‍यो र पछि ती देवीदेवताहरूलाई म्युजियममा सीमित पारियो। भर्खरै पलाएको इसाई धर्म भएतापनि हजारौँको संख्यामा वढि विभिन्न गुटहरूमा बाँडिएको त्यस धर्मलाई रोमको सम्राट कन्सटेन्टिनले त्यस धर्मका गुरूहरूको गोलमेच संमेलन गरि इसाई धर्मको ठेक्का आफ्नो हातमा लिए। आफू राजनीतिक व्यक्तित्व भएको कारण उनले एक जना सर्वमान्य भनेर गुरूको स्थापना गरे जसलाई पोप भनिन्छ। त्यही पोपको मातहतमा इसाई धर्म प्रचारप्रसार भएकोले इसाई धर्म पाश्‍चात्य धर्म भनेर सम्बोधन हुन पुगेको हो।
विश्वका इसाईहरू दुई प्रमुख खेमामा बाँडिएका छन्, रोमन क्याथोलिक र प्रोटेस्टेन्ट। क्याथोलकको अर्थ जगत् वा सार्वलौकिकू हो। यदि कुनै पनि धर्म वा वाद सर्वव्यापी छ भने त्यसलाई क्याथोलिक भन्नुमा केही आपत्ति हुँदैन। तर रोमन भन्ने शव्द जोडिदा पोपलाई मान्ने विश्‍वासीहरूलाई रोमन क्याथोलिक भन्ने जनाउँछ। धर्मकर्म गरेर र पोपलाई मानेर होइन येशूलाई सीधा विश्‍वास गरे मुक्ति पाइन्छ भनेर रोमन क्याथोलिक भिक्षु मार्टिन लुथर लगायत पोपसँग असहमत जनाउने पन्ध्रौं शताव्दीताकाका सयौँ इसाई धर्मगुरूहरू छुट्टिन पुग्दा तिनीहरूलाई प्रोटेस्टन्ट वा सुधारवादी इसाईहरू भन्न पुगियो। तर यो पनि पश्‍चिमी इसाई धर्मको उपज नै हो। यथार्थमा भन्ने हो भने यदि कुनै नास्तिक देशको खोजी गर्नुछ भने पश्चिम देशमा जानुपर्छ। येशूलाई क्रुसमा टाङ्ग्नेदेखि लिएर येशूको खिलाफमा विभिन्न पुस्तक र फिलिमहरू निकालेर उनलाई थान्को लगाउन चाहने विज्ञ भनाउँदाहरू पश्‍चिमी देशमै पाइन्छन् ।
तर गजबको कुरो के छ भने ठेट वा सही इसाई धर्म वा आस्था पश्‍चिमी सभ्यताको उपज नभएर मध्यपूर्व एशिया इस्रायलमा जन्मेका येशू ख्रीष्टबाट प्रादुर्भाव भएको हो। उनी जन्मिदा पूर्व देशका तारा खोइ भनेर ज्ञानी मानिसहरू खोज्दै इस्राएलमा आएका थिए। जब येशू वढे र हुर्के, उनी आफ्नो क्षेत्र इस्राएलभन्दा बाहिर गएनन् । एक पटक आफ्नो देशको सिमाना नाघेर गएको भनेर इसाई धर्मशास्त्र बाइबलले देखाउँछ। उनको जीवनीको वृतान्त र शिक्षादिक्षा केवल १०० पानाहरूमा मात्र सीमित छ भनिन्छ। वर्तमान इसाई क्षेत्रले मानेका कतिपय संस्कार, संस्कृति, डगमा वा धार्मिक सिध्दान्तहरू येशूको निम्ति नौलो नै थिए। क्रिश्‍चियानीति धर्मसँग जोडिएको छ भने येशूनीति मानिससँग जोडिएको छ।
येशूको निम्ति धर्मभन्दा मानिस ठूलो थियो। उनी कुनै धर्म स्थापना गर्न आएका थिएनन् तर मानिसको मोल धर्मभन्दा पनि ठूलो छ भनेर प्रमाणित गर्न आएका थिए । येशू ख्रीष्ट पापीको लागि आए, जसले उनलाई विश्‍वास गर्छ त्यसले तत्काल नै सही मुक्तिको स्वाद पाउँछ भनेर इसाई शास्त्र बाइबलले बताउँछ। आफ्नो अगाडि भएको भाईलाई माया नगर्नेले नदेखेको परमेश्वरलाई कसरी विश्‍वास गर्नसक्छ भनेर त्यस ग्रन्थले चुनौती दिन्छ। अन्याय सहनु पाप हो भनेर पश्चिम देशका क्रिश्चियन राजा र अगुवाहरूले दसौँ शताव्दीमा क्रुसेड गरेर इस्राएलमा रहेका कतिपय गैरइसाईहरूसँग युद्ध गर्दै तिनीहरूलाई हत्या गरेका थिए। तर यदि अन्याय सहनु पाप हो भने येशूले पाप गरेका थिए भने पनि हुन्छ किनभने उनले विनाकारण पश्चिमी देश रोमको बडा हाकिमको हातबाट मृत्युदण्ड भोगेका थिए । तर उनको नीति अन्याय सहनु पाप हो नभएर अन्याय नसहनुको नाउँमा अन्याय गर्नु नै पाप।
डाँडामा येशूले दिएको उपदेशलाई महात्मा गान्धीले नियमित पाठ गर्दथे भनिन्छ। एउटा गालामा हिर्काउँदा अर्को गाला पनि थापिदे भन्ने येशूको वचनबाट प्रभावित भएर उनले बेलायतसँग विनाहतियार भिँड्ने शक्ति आर्जन गरेका थिए । त्यसकारण इसाई धर्म पाश्‍चात्य धर्म हो भन्नु जायज देखिन्दैन । कसैले भन्छ भने यो पूर्वाग्रह र अल्पज्ञानको उपज हो भन्नुमा अत्युक्ति नहोला।
(आगामी श्रृखलाहरूमा येशूनीति सम्वन्धी जानकारी अगाडि बढाउन यो लेखक कोशिश गर्नेछ।)
- See more at: http://www.enepalikhabar.com/editorial/2013/09/9051#sthash.JRC0oAPU.dpuf